काठमाडाैं : नेकपा एमालेका केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टीले स्पष्टीकरण सोधेपनि सत्यको पक्षमा उभिनु नछाड्ने बताएकी छन् ।
पार्टी कार्यालय निर्माण गर्न व्यापारीले जग्गा दान गरेको विषयमा आलोचना गरेको भन्दै पार्टीले स्पष्टीकरण सोध्ने निर्णय गरेसँगै उनले एक्लै भएपनि सत्यको पक्षमा उभिनुपर्ने बताएकी हुन् । गौतम बुद्धको भनाइ उदृत गर्दै उनले आइतबार साँझ सामाजिक सञ्जालमा लेखेकी छन्, ‘एक्लै भएपनि सत्यको पक्षमा उभिनु पर्छ ।’
उनले पार्टी कार्यालय भवन निर्माणमा व्यापारीको सहयोग लिनु गम्भीर गल्ती भएको भन्दै सामाजिक सञ्जालमा लेख्नुका साथै अन्तरवार्ता समेत दिएकी थिइन् ।