काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ पर्नुलाई उनको ‘कर्मको फल’को संज्ञा दिएका छन् ।
आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामिछाने पक्राउ पर्नुमा कुनै पूर्वाग्रह नरहेको बताएका हुन् । ‘यो पक्राउ न प्रतिशोध हो, न कुनै पूर्वाग्रह हो । यो उहाँको कर्मको फल हो । कर्मको फलअनुसार उहाँले भोगिरहनु भएको छ । जोशीजी (छविलाल जोशी) सँगै पक्राउ पर्नुपर्थ्यो । यद्यपि ढिला भयो,’ उनले भने ।
साथै, लामिछानेमाविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, जालसाँझी, किर्ते र संगठित अपराधमा अनुसन्धान अगाडि बढ्ने उनले बताए । उनले आजको दिनसम्म सहकारी ठगीमा एक हजार ६ सय व्यक्ति जेलमा रहेको बताए । जिबी राईजस्तै ६ सय व्यक्तिहरू अहिले पनि फरार रहेको उनले बताए ।
थुनामा रहेका लामिछाने र १ हजार ६ सय व्यक्ति कानुनको नजरमा बराबरी रहेको उनले बताए । नेता शिवाकोटीले सहकारी ठगीमा पक्राउ परेका लामिछाने एक्ला व्यक्ति होइनन् भन्ने बुझ्न आवश्यक रहेको बताए ।