हेटौंडा–कुलेखानी–काठमाडौं सडक खण्ड दुईतर्फी सञ्चालनमा

२०८१ कार्तिक ५, सोमबार

मकवानपुर : हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको सबै मार्ग दुईतर्फी सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२, सिमखोलामा बाटो मर्मत तथा ह्युमपाइप हाल्नका लागि तीन दिनदेखि एकतर्फी रुपमा सञ्चालनमा रहेको बाटो आइतबार साँझबाट पूर्णरुपमा खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बाटो मर्मत भएसँगै अब सहजरूपमा सवारी आउजाउ हुनेछ । यस बाटो मर्मत हुँदा वैकल्पिक बाटोका रूपमा हेटौंडा–भैंसे पालुङ हुँदै काठमाडौं र कान्ति लोकपथको हेटौंडा–ठिंगन हुँदै काठमाडौं रुट प्रयोग गरिँदै आएको थियो ।

असोज ११ र १२ गतेको अविरल वर्षातले कुलेखानीको ड्याम भरिएपछि ढोका खोल्ने क्रममा सिमखोलाको पुलमा असर गरेको थियो । दसैंका लागि वैकल्पिक बाटो बनाएर यस रुटलाई सञ्चालन गरिँदै आएको थियो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले सिमखोलामा बनाइएको डाइभर्सनमा थप अर्को ट्रयाक खोल्ने प्रयोजनका लागि बन्द गरिएको सडक खण्ड काम सकिएपछि खोलिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार