पोखरा : पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ ।
राजनीतिक प्रतिशोधविरुद्धको भनिएको ऐक्यबद्धताका लागि दिउँसो १२ बजेपछि पोखराको पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो । रास्वपाले नेता–कार्यकर्तालाई विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर शनिबार बिहान पोखरा ल्याइएको थियो । शनिबारदेखि नै रास्वपाले विरोध प्रदर्शन गरिरहेको छ ।
शनिबार चिप्लेढुंगास्थित मानवअधिकार चोकमा प्रदर्शन गरेकोमा आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि सहिदचोकमा उनीहरूले विरोध प्रदर्शन गरे ।जिल्ला प्रशासन कार्यालयले शहिदचोक आसपास र जिल्ला प्रहरी कार्यालय गैरापाटन आसपास निषेधाज्ञा जारी गरेको छ । आइतबार रास्वपाका समर्थकले निषेधाज्ञा तोडेर सहिदचोकमा प्रदर्शन गरेका थिए ।
निषेधित क्षेत्रबाट भीड हटाउन खोज्दा दिनभरजसो प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेला भयो । प्रहरीले भीड नियन्त्रणमा लिन पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।