काठमाडौं : एसिसी यू-१९ एसिया कपको तयारीमा रहेको नेपाली यू-१९ टोली र भारतको कर्नाटक यू-१९ टोलीबीचको पाँच खेलको एकदिवसीय सिरिज सुरू भएको छ।
बुधबार मुलपानी मैदानमा भएको पहिलो खेलमा नेपाली टोली पराजित भएको छ। नेपाली टोलीमाथि कर्नाटकले एक विकेटको जित निकालेको छ। कर्नाटकले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपाल २७.२ ओभरमा ११३ रनमै अलआउट भएको थियो। नेपालका लागि ओपनर आकास त्रिपाठीले सबैभन्दा बढी २७ रन जोड्दा अरु ब्याटर सस्तैमा आउट भए।
बलिङमा कर्नाटकका इसा एच पुथिगेले ५ विकेट लिए। उनले ७ ओभरमा १ मेडन राख्दा १३ रन मात्र दिएका थिए। ११४ रनको लक्ष्य कर्नाटकले ३१.१ ओभरमा ९ विकेट गुमाएर भेट्टायो। उसका लागि रोहित आरभीले सबैभन्दा बढी ३३ रन जोडेका थिए।
बलिङमा नेपालका कप्तान हेमन्त धामी र सन्तोस यादवले ३-३ विकेट लिए। अब नेपाल र कर्नाटकबीच कात्तिक ३०, मंसिर २, मंसिर ४ र मंसिर ६ मा बाँकी खेल हुनेछन्।यू-१९ एसिया कप मंसिर १४ देखि युएईमा सुरू हुँदैछ। एसिया कपमा नेपालले समूह ‘बी’ मा अफगानिस्तान, बंगलादेश र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले आफ्नो पहिलो खेल मंसिर १४ मा श्रीलंकासँग खेल्ने कार्यक्रम छ। एसिया कपको समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र जापान छन्। नेपाली टोलीको प्रशिक्षकमा शक्ति गौचन छन्। यसअघि कपका लागि नेपालले हेमन्त धामीको कप्तानीमा राष्ट्रिय टोली घोषणा गरिसकेको छ।
टोलीमा हेमन्त धामीसँगै अर्जुन कुमाल, आकाश त्रिपाठी, उत्तम रंगु थापामगर, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी,दिलसाद अली र रन्जित कुमार छन्।
नेपालले मंसिर १४ मा श्रीलंकासँग खेलेपछि दोस्रो खेल मंसिर १६ मा बंगलादेशसँग र तेस्रो खेल मंसिर १८ मा अफगानिस्तानसँग खेल्नेछ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल मंसिर २१ र फाइनल २३ गते हुनेछ।