डाँका चोरी मुद्दामा ४ वर्ष जेल बसेर निस्केका युवक फेरि चोरी आरोपमा पक्राउ

२०८१ कार्तिक २८, बुधबार

काठमाडौँ : भक्तपुरमा दिउँसोको समयमा चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–५ काटाकुटी घर भएका ३८ वर्षीय रवि कार्की छन् । आरोपीले भक्तपुर र काठमाडौँको काँडाघारी क्षेत्रमा समेत ४ ठाउँमा चोरेको अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज नेउपानेले बताए ।

आरोपीले साउन २ मा मध्यपुर थिमी नगरपालिका–१ लोकन्थली स्थित राम मन्दिर नजिकै पार्वती धानुकको डेराबाट १ लाख ५२ हजार बराबरको सुन र नगद चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । कार्तिक १३ मा उनले मध्यपुर थिमि–२ स्थित रामेश्वर मन्दिर नजिकै कृष्णहरि कार्कीको डेरा फुटाएर २ लाख २० हजार बराबरको रकम चोरेका हुन् । आरोपीलाई उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको समन्वयमा मंगलबार पक्राउ गरेर थप अनुसन्धानका लागी प्रहरी वृत्त थिमीमा पठाइएको डीएसपी नेउपानेले जानकारी दिए ।

कार्की यसअघि ४ वर्ष डाँका चोरी मुद्दामा जेल बसेर छुटेका थिए । आरोपी २०८० चैतमा जेलबाट रिहा भएपछि पुनः भक्तपुरका विभिन्न क्षेत्रमा चोरीमा सक्रिय भएको डीएसपी नेउपानेले बताए । दिउँसोको समयमा घरमा छिरेर चोर्ने उनको अपराध प्रवृत्ति देखिएको छ । भक्तपुर र काँडाघारीमा उनले चार ठाउँमा चोरेको सिसिटिभी फुटेजमा देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार