शुक्लाफाँटा आरक्ष विस्थापितका समस्या समाधान गर्न साउदको माग

२०८१ माघ २५, शुक्रबार

काठमाडौँ : नेपाली कांग्रेसका सांसद एनपी साउदले पुनः नापी गरेर कञ्चनपुरको आरक्ष विस्थापितको समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभा पाँचाैँ अधिवेशनको शुक्रवार बसेको तेस्रो बैठकको शून्य समयमा सांसद साउदले सरकारद्वारा गठित समितिको सुझावअनुसार पुनः नापी गरेर आरक्ष विस्थापितको समस्या समाधान गर्न माग गरेका हुन्।

समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन भएका दुई वटा समितिले समाधानको उपाय दिन नसकेपछि मन्त्रालय स्तरीय निर्णयबाट उपसचिवको संयोजकत्वमा गठन भएको समितिले विस्तृत नाप जाँच फिल्ड भिडाएर सरकारलाई सर्वसम्मत प्रतिवेदन बुझाएको छ।

‘साबिकको नापी बदर गरी चाक्लाबन्दी वा एकीकृत विकासको दृष्टिकोणले पुनः नापी गरेर समस्या समाधान गर्नुपर्ने सुझाव समितिको छ,’ साउदले भने, ‘म सम्मानीत सदनमार्फत प्रतिवेदन अविलम्ब कार्यान्वयन गरेर समस्याको समाधान गर्न सरकारसँग जोडदार माग गर्दछु ।’

सांसद साउदका अनुसार कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७, ९ र १० मा आरक्ष विस्तारका लागि जङ्गल फडानी गरी आरक्षपीडित र सुकुम्वासीलाई जग्गा वितरण गरेर बसोबास गराइएको थियो । तीन वटै वडामा गरी एक हजार दुई सय घर परिवार रहेका उनले जानकारी दिए ।

‘त्यति बेला कतिपय ठाउँमा स्थलगत निरीक्षण नगरी कित्ताकाट हुँदा फिल्डमा रहेको स्वामित्व र लालपुर्जामा रहेको स्वामित्वमा फरक पर्दा बिक्री वितरण र नियन्त्रणमा गम्भीर विवाद उत्पन्न भएपछि नेपाल सरकारले सिडिओको अध्यक्षतामा दुई पटक समस्या समाधान समिति गठन गरेको थियो,’ साउदले भने, ‘ती समितिले काम नगरेपछि हालै मन्त्रालय स्तरीय निर्णयबाट उपसचिवको संयोजकत्वमा गठन भएको समितिले विस्तृत नाप जाँच तथा फिल्ड भिडाइ सर्वसम्मत प्रतिवेदन बुझाएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार