काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका हुम्ला जिल्ला उपसभापति महानन्द जैसी एक लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन्।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई कुटपिट गरेको अभियोगमा जिल्ला अदालत काठमाडौँले उनीसहित तीनजनासँग एक लाख रुपैयाँका दरले धरौटी माग गरेको थियो। दुई जना धरौटी बुझाएर रिहा भइसके पनि हुम्लाको अदानचुली गाउँपालिका ४ घर भई हाल काठमाडौँको टोखा बस्ने ३२ वर्षका महानन्द जैसीलाई भने धरौटी बुझाउन नसकेपछि केन्द्रीय कारागार सुन्धाराको जगन्नाथदेवल पठाइएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले शुक्रबार ज्यान मार्ने उद्योगमा तीनै जनासँग एक लाख रुपैयाँका दरले धरौटी माग गरेको थियो।
हातपातको आरोपमा पक्राउ परेका दोलखाको तामाकोसी गाउँपालिका १ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका ५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी र झापाको बुद्धशान्ती गाउँपालिका ४ घर भई शान्तिनगर बस्ने ५५ वर्षकी शीतल राई भन्ने सितादेवी राईले धरौटी बुझाइसकेका हुन्।









