काठमाडौं : नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले जारी गरेको अध्यादेशमा मधेशवादी दललाई सहमतिमा ल्याउन थालिएको बताएका छन् ।
एमाले बागमती प्रदेश कमिटीले शनिबार भक्तपुरको गोठाटारस्थित मदन/आश्रति स्मृति प्राविधिक शिक्षालयमा आयोजना गरेको बागमती प्रदेशस्तरीय प्रशिक्षक-प्रशिक्षण कार्यक्रममा उनले मधेशवादी दललाई अध्यादेशको पक्षमा ल्याउने प्रयास भइरहेको बताए । ‘मधेशवादी दलले अध्यादेशलाई समर्थन गर्नका लागि अप्ठयारो मानेको देखिन्छ । तिनलाई सहमति गराएर यस विषयलाई अगाडि बढाउने पार्टीको सोच छ । त्यसका लागि प्रयास भइरहेको छ’, महासचिव पोखरेलले भने ।
उनले राज्य कमजोर पारेर व्यक्ति बलियो हुने प्रयास गर्न खोजिएको भन्दै बलियो राज्यले नै समाजलाई चाहेको दिशामा डोर्याउन सक्ने र त्यसका लागि पार्टीले काम गरिरहेको बताए । महासचिव पोखरेलले राजनीतिक धुव्रीकरण गर्दै ठूला पार्टीलाई बलियो बनाउँदै लैजानु पर्ने धारणा राखे । उनले दुई ठूला पार्टी लामो समयसम्म सँगै बस्न नसकिने भन्दै निर्वाचनमा अलग–अलग भएर चुनावमा जाने बताए ।
‘हाम्रो लक्ष्य फरक भएकाले लामो समयसम्म सँगै बस्न सकिँदैन । नीतिगत प्रतिस्पर्धा गर्ने बाटो तयार गर्नका लागि अहिले दुई पार्टी मिलेका हौँ । त्यो काम गर्छौं ।’









