युरोपियन च्याम्पियन्स लिग : फेयनोर्डसँग एसी मिलान स्तब्ध

२०८१ फाल्गुन ७, बुधबार

काठमाडौं : इटालियन क्लब एसी मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको प्लेअफ चरणबाटै बाहिरिएको छ ।

दोस्रो लेगको खेलमा डच क्लब फेयनोर्डसँग १-१ गोलको बराबरी खेलेको मिलान समग्रमा २-१ को हार व्यहोर्दै बाहिरिएको हो । फेयनोर्ड भने पहिलोपटक अन्तिम १६ मा प्रवेश गरेको हो । गएराति घरेलु मैदानमा भएको खेलको पहिलो मिनेटमै अग्रता लिएको भएपनि त्यसपछि गोल थप्न नसक्दा र अग्रता जोगाउन नसक्दा मिलान स्तब्ध बन्यो ।

पहिलो मिनेटमै सान्टियागो जिमेनेजले गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ५१औं मिनेटमा थिओ हर्नान्डेजले रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा सीमित भएको थियो । ७३औं मिनेटमा जुलियन कारानाजाले गोल गर्दै पाहुना टोलीका लागि बराबरी गरे । त्यसपछि थप गोल नहुँदा बराबरीमा सकिएको खेलपछि समग्रमा २-१ को जित निकाल्दै फेयनोर्ड अन्तिम १६ मा पुग्न सफल भयो । खेल सकिने क्रममा फेयोनोर्डका गिभाइरो रिडले पनि रातो कार्ड पाएका थिए ।

यसअघि पहिलो लेगको खेलमा फेयनोर्ड १-० ले विजयी भएको थियो । मिलानले घरेलु मैदानमै प्रभावशाली प्रदर्शन गर्न नसक्दा अन्तिम १६ मा पुग्नबाट वञ्चित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार