वर्तमान गठबन्धन सरकारमा माओवादी सहभागी हुँदैन : प्रचण्ड

२०८१ चैत्र ५, मंगलवार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केपी ओली नेतृत्वको वर्तमान गठबन्धन सरकारमा सहभागी हुने कुनै नीति नभएको दाबी गरेका छन् ।

जनता समाजवादी पार्टीका नेता, पूर्वमन्त्री तथा लेखक राजेन्द्र श्रेष्ठको नेपाल भाषामा लेखिएको ‘ऐतिहासिक नेपाल मण्डल, संघवाद सिद्धान्त तथा नेवा पहिचान’ नामक पुस्तकको लोकार्पण गर्दै प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले भने– ‘माओवादी वर्तमान सकारमा जाने हल्ला निराधार हो । कांग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउन लागेको चर्चा भइराखेको छ । साथीभाइहरूले फोनमार्फत चासो राखेका छन् । आज म यो मञ्चबाट भन्छु कि हामीले अहिले सरकारमा जाने कुनै नीति लिएका छैनौं, लिँदैनौं ।’

उनले टीआरसी, बेपत्तासम्बन्धी विषयमा छलफल भइरहेको तर सरकारमा जानेबारे कोहीसँग पनि औपचारिक कुराकानी नभएको जिकिर गर्दै भने– ‘देशमा संकट आयो भने संकट कसरी समाधान गर्ने भन्नेबारे हामी हाम्रो विचार दिन्छौं । तर, यही सरकारमा सामेल हुने हाम्रो कुनै नीति छैन । बाँकी प्रचार सबै भ्रम हो ।’

अध्यक्ष प्रचण्डले पछिल्लो समय राजावादीहरूले जनतालाई पुनः एकपटक रैती बनाउने गरी प्रयास शुरू गरिरहेको टिप्पणी गरे । उनले प्राप्त उपलब्धिको रक्षा गर्नुपर्नेमा जोड दिँदै प्रचण्डले राजाहरूले गरेका कार्यहरूबारे अहिलेको पुस्तालाई जानकारी गराउनुपर्ने बेला आएको पनि बताए ।

उनले भने– ‘कोत पर्व के थियो ? भण्डारखाल क–कसको झगडाले भएको हो ? त्यहाँ सयौं भारदारहरूको कत्लेआम कसरी गरिएको थियो ? नेपालको नक्सालाई संकुचित बनाउने काम दरबारिया राजाहरूले कसरी गरेका थिए ? विदेशीको चाकडी कसरी गरेका थिए ? हिजोका राजा र महाराजाहरू अन्तर्राष्ट्रिय रूपमा वेश्यालयमा गएर नेपालको बेइज्जत कत्ति धेरै गराएका थिए ? नमिता–सुमिता हत्याकाण्ड के थियो ? दरबार हत्याकाण्ड कसले कसरी गराएको हो ? यो युवाहरूलाई बुझाउनु पर्छ ।’ उनले जनताको मौलिक अधिकार र सामान्य प्रेस स्वतन्त्रता पनि हरण गरेर जेल, नेल र हत्या कसरी हुने गरेको थियो भन्ने कुरा युवाहरूलाई थाहा नभएकाले बुझाउनुपर्ने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि जनताका धेरै अपेक्षा रहेको भए पनि त्यो पूरा हुन नसकेकोले त्यसमा गम्भीर समीक्षा गरेर जानुपर्नेमा आफ्नो पार्टीको धारणा रहेको स्पष्ट पार्दै उनले भने– ‘संघीय लोकतान्त्रिक गणतन्त्र आएपछि जनताको अपेक्षा अब धेरै विकास हुन्छ, अधिकार पनि पाउँछौं भन्ने थियो । त्योअनुसार राजनीतिक दल र नेताहरूले काम गर्न नसकेको साँचो हो । त्यसको समीक्षा गर्नुपर्छ र उपचारतिर लाग्नुपर्छ भन्नेमा माओवादी केन्द्र देशमा एक नम्बर पार्टी हो ।’

सो अवसरमा लेखक श्रेष्ठले विश्वमा अभ्यासमा रहेका संघीयता र त्यसका स्वरूपका साथै संघीयताको विशेषतालाई केलाउँदै नेवाः समुदायको ऐतिहासिकतालाई समेटिएर पुस्तक लेखिएको बताए । पुस्तक नेवाः समुदायको ऐतिहासिक बनोट, विकासक्रम, गोर्खाका राजा पृथ्वीनारायण शाहको राज्य विस्तार र केन्द्रीकृत शासन, राज्य पुनःसंरचनाको सकस, संघीयता, समानुपातिक समावेशीको विषयमा केन्द्रित रहेको पनि उनले बताए ।

सो अवसरमा नेवाः आन्दोलनका अगुवा मल्ल के सुन्दर नेवाः समुदायको इतिहास र सभ्यतालाई ऐतिहासिक कोणबाट विश्लेषण गर्दै लेखिएको राजनीतिक मुद्दाका बारे नेपालभाषामा लेखिएको यो अत्यन्त महत्वपूर्ण पुस्तक रहेको धारणा राखे । उनले राज्य पुनःसंरचनाको सवालमा माओवादीले गरेका त्रुटिलाई सच्याउने आँट गरेर मात्र सडकमा आउन पनि प्रचण्डलाई सुझाव दिए ।

भाषा आयोगका सदस्य सुरेशकिरण मानन्धरले सो पुस्तक नेवाः तथा संघीयता, पहिचान र समानुपातिक समावेशीप्रति रुचि हुने प्रत्येकले पढ्नुपर्ने रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार