काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि एकपटक जालझेल गरेको बताएका छन्। बुधबार संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले ओलीबाट पटकपटक जालझेल र षडयन्त्रको सिकार फू भएको बताएका हुन्।
‘सिंहदरबार गएर टीआरसीबारे टुंग्याए लगत्तै गर्नुपर्ने केही बाध्यता त थिएन,’ प्रचण्डले भने, त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो। फेरि एकपटक निकै ठूलो जालझेल भएको जस्तो मलाई भयो।’
प्रचण्डसहित प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेता बसेर आइतबार टीआरसीमा सहमति जुटाएको बताएका थिए। प्रचण्डले कुलमान घिसिङ हटाउन ओलीले जालझेल गरेको भन्दै त्यसबारे जवाफ नदिएसम्म संसद चल्न नदिने बताए।
‘एकदुईदिन पर्खेको भए पनि हुन्थ्यो। अब प्रधानमन्त्रीले रोष्ट्रममा उभिएर जवाफ नदिएसम्म हाउस चल्न सक्तैन भनिएको छ। प्रधानमन्त्रीले यसलाई सहज ढंगले लिनुपर्ने हुन्छ,’ प्रचण्डले थपे।
गत असार १७ गते बहान कांग्रेससँग सहमति गर्नुअघि केपी शर्मा ओलीले प्रधानमन्त्री रहेका प्रचण्डलाई स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने भनेर ढुक्क पारेका थिए। तर, सोही दिन मध्यराती ओलीले आफू प्रधानमन्त्री बन्नेगरी कांग्रेस सभापति देउवासँग ७ बुँदे सहमति गरेका थिए। त्यही सहमतिअनुसार प्रचण्ड सरकार ढलेको थियो। त्यस्तै उनले आफूमाथि राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले लगाएको आरोपको खण्डन गरे।
‘ज्ञानेन्द्र शाहीले टीआरसीसँग कुलमान साट्यो भन्नु भएछ यो भन्दा झूटो, बेइमानीपूर्ण र अपराधिक प्रचार केही हुन सक्छ?’ उनले सोधे।



