
काठमाडौं : जम्मु-कस्मिरको सुन्दरबनीस्थित नियन्त्रण रेखामा भएको कारबाहीका क्रममा सेनाका सुबेदार कुलदीप चन्द मारिएका छन्।
भारतीय सेनाको ह्वाइट नाइट कोर्प्सका अनुसार ११ अप्रिलको रात कुलदीप चन्द सुन्दरबनीको केरी-बट्टल क्षेत्रमा घुसपैठविरोधी अभियानको नेतृत्व गर्ने क्रममा मारिएका हुन्।
ह्वाइट नाइट कोर्प्सले एक्समा भनेको छ, ‘जनरल अफिसर कमान्डिङ (जीओसी) ह्वाइट नाइट कोर्प्स र सबै श्रेणी ९ पञ्जाब रेजिमेन्टका बहादुर सुबेदार कुलदीप चन्दको सर्वोच्च बलिदानलाई सलाम गर्दछन्।’ पोस्टमा थप भनिएको छ, ‘उनले ११ अप्रिलको रात सुन्दरबनीको केरी-बट्टल क्षेत्रमा नियन्त्रण रेखामा घुसपैठविरुद्धको अभियानको साहसपूर्वक नेतृत्व गर्दा आफ्नो जीवन बलिदान दिए।’
ह्वाइट नाइट कोर्प्सले सहिद कुलदीप चन्दको परिवारप्रति समवेदना व्यक्त गरेको छ। उसले लेखेको छ, ‘उनको टोलीको बहादुरी र सुबेदार कुलदीपको सर्वोच्च बलिदानले आतंककारीहरूको घुसपैठको प्रयासलाई विफल बनायो। यो दुःखको घडीमा हामी शोकसन्तप्त परिवारको साथमा छौँ।’