
काठमाडौं : राष्ट्रिय शिक्षक महासंघले काठमाडौंमा गरिरहेको आन्दोलनमा सहभागी भएर फर्किएका एक प्रधानाध्यापकको सवारी दुर्घटनामा परी निधन भएको छ । दुर्घटनामा परी निधन हुने शिक्षक मनाङको नार्फु गाउँपालिका–८ का मन घले हुन् । उनी मनाङको नासोँ गाउँपालिका–८ मा रहेको जनविकास आधारभूत विद्यालयका प्रधानाध्यापक थिए । शिक्षकहरूको आन्दोलनमा सहभागिता जनाउन काठमाडौं गएका घले फर्किने क्रममा तनहुँमा दुर्घटनामा परेका हुन् । आइतबार तनहुँको भानु नगरपालिका–१०, नेपालटारमा भएको स्कुटर र जीप दुर्घटनामा घलेले ज्यान गुमाएका हुन् । नेपाल शिक्षक महासंघले आफ्ना सदस्य समेत रहेका घलेको निधनप्रति समवेदना व्यक्त गरेको छ । डुम्रे–बेँसीसहर सडकखण्डमा डुम्रेबाट लमजुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र ग २६ प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अशोक थापाले जानकारी दिए । सोही दुर्घटनामा स्कुटर पछाडि सवार लमजुङको बेँसीसहर नगरपालिका–८ की ३२ वर्षीया अनिता थापा श्रेष्ठको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
यस अगी प्राविधिक कमजोरीको कारण फोटो अन्यथा पर्न गएकोले भूल सुधार सहित सच्याइएको छ । यसबाट सम्बन्धित व्यक्तिमा पर्न गएको असुविधाको लागि क्षमा प्रार्थी छौं । स.