
काठमाडौं : गोरखा, लमजुङ र तनहुँका भू–भाग हुँदै बग्ने मर्स्याङ्दी नदीमा एम.ए. पावर प्रा.लि.द्वारा निर्माण हुने ९० मेगावाट क्षमताको अर्धजलाशययुक्त मस्र्याङ्दी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । कुमारी बैंक लिमिटेडको अगुवाइमा २०८२ वैशाख ३१ गते आयोजना निर्माणका लागि रु. १५ अर्ब १८ करोड ७५ लाखको ऋण लगानी सम्झौता सम्पन्न भएको हो ।
एम.ए. पावर प्रा.लि.का अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख व्यवसाय अधिकृत क्षितिज खड्काको उपस्थितिमा कुमारी बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, सानिमा बैंक, कर्मचारी सञ्चय कोष, गरिमा विकास बैंक, लुम्बिनी विकास बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकबीच संयुक्त लगानी सम्झौता गरिएको हो ।
स्वपुँजी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालले लगानी गर्नेछन् भने डोल्मा इम्प्याक्ट फन्डले ४९ प्रतिशतसम्म संस्थापक सेयरमा लगानी गर्ने कम्पनी अध्यक्षले बताए । सोही समुहबाट सेतीखोला हाईड्रोपावर लिमिटेडमार्फत निर्माणधीन २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको उल्लेख गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरणसँग आयोजनाको विद्युत खरिद बिक्री सम्झौता २०८० कार्तिक १ गते सम्पन्न भइसकेको छ भने विद्युत् व्यावसायिक उत्पादन मिति २०८६ वैशाख २२ तय गरिएको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृतिको अन्तिम चरणमा रहेको बताइएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् ११.६ किलोमिटर लामो २२० केभी एकल सर्किट प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको मार्किचोक सब-स्टेशनमा २२०/१३२ केभीमा जोडिनेछ ।