
काठमाडौं : आईसीसी विश्वकप लिग-२ शृंखलाका लागि स्कटल्यान्डमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ठूलो धक्का लागेको छ।
प्रशिक्षणका क्रममा टोलीका प्रमुख तीव्र गतिका बलर सोमपाल कामी र महत्त्वपूर्ण अलराउन्डर गुल्सन झा घाइते भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै दुवै खेलाडी चोटका कारण मैदान बाहिर रहने पुष्टि गरेको हो।
क्यानका अनुसार सोमपालको दायाँ हात र गुल्सनको घुँडामा चोट लागेको छ। चिकित्सकको परामर्शपछि उनीहरूलाई आराम गर्न सुझाइएको छ। जसका कारण दुवै खेलाडीले लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेल र त्यसपछिको सम्पूर्ण टी-२० अन्तर्राष्ट्रिय शृंखला गुमाउने भएका छन्।
अनुभवी खेलाडी सोमपाल नेपाली टोलीको बलिङ आक्रमणका एक प्रमुख स्तम्भ हुन् भने गुल्सन पछिल्लो समय ब्याटिङ र बलिङ दुवैमा महत्त्वपूर्ण योगदान दिँदै आएका प्रभावशाली अलराउन्डर हुन्। एकैसाथ दुई प्रमुख खेलाडीले खेल्न नसक्ने भएपछि टोलीको सन्तुलनमा असर पर्ने देखिएको छ।