काठमाडौँ : नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरको नयाँ नोट आजदेखि प्रचलनमा ल्याएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार साविककै आकार, रंग तथा डिजाइनमा नयाँ नोट बजारमा ल्याइएको हो ।
नयाँ नोटमा बाँया भागमा सगरमाथाको चित्र र दायाँ भागमा लालीगुराँसको पानी छाप यथावत् राखिएको छ भने नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहने जनाइएको छ । राष्ट्र बैंकले नयाँ नोट विद्यमान नोटहरुसँगै प्रचलनमा रहने जानकारी दिँदै नगद कारोबारमा सहजता ल्याउने उद्देश्यले नयाँ मुद्रण गरिएको जनाएको छ । नोटमा सुरक्षा विशेषताहरु यथावत् राखिएकाले उपभोक्ताले निर्धक्क प्रयोग गर्न सक्ने राष्ट्र बैंकको भनाइ छ ।
नोटको डिजाईनमा कुनै परिवर्तन नगरी मुद्रण मिति र दस्तखतमा मात्र नयाँपन दिइएको यस नोटको बजारमा सटही, कारोवार र संकलन प्रक्रिया यथावत् रहनेछ ।












