काठमाडौं : नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमा गायिका समीक्षा अधिकारीसँग माफी मागेका छन्।
शनिबार बस्नेतले फेसबुकमा लेखेको एउटा स्टाटसले आफ्नो चरित्रमा आक्षेप लगाइएको भन्दै गायिका अधिकारीले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी फेसबुकमै गुनासो पत्र लेखेपछि पूर्वमन्त्री बस्नेतले क्षमा माग्दै आफ्नो स्टाटस सच्याएका हुन्।
समीक्षाले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हजुरले लेख्नुभएको फेसबुक पोस्टले मलाई हौसला दियो र केही मात्रामा राहत पनि मिल्यो। तर त्यो पोस्टको मसी सुक्न नपाउँदै हजुरकै अत्यन्त विश्वास पात्र महेश बस्नेतज्यूले कुनै घटनाबाट आफूलाई चोख्याउन मेरो चरित्र हत्या हुने गरी अनेक कुरा लेख्नुभएको देख्दा म अत्यन्त विक्षिप्त बनेकी छु। जनताको अदालतभन्दा ठुलो अरू केही छैन। जिन्दगीमा जानाजान हारेर पनि कसैलाई जिताएर आएकी हुँ। यो तीन करोड जनतालाई थाहा छ। धेरै भन्ने नपार्नुस्। बस्नेतज्यूलाई मेरो प्रश्न छ- मलाई र हजुरकी डाक्टर छोरी एकै ठाउँमा राखेर सोच्नुभएको भए के यस्तो लेख्ने हिम्मत आउँथ्यो?’
यसपछि क्षमा माग्दै बस्नेतले आफ्नो स्टाटस संशोधन गरेका हुन्।
‘मेरो स्टाटस आफूमाथि भएको निरन्तरको प्रहार र आक्रमणको बारेमा केही स्पष्ट पारेको मात्रै हुँ। सोही विषय लेख्दा केही सन्दर्भहरू जोडिएका थिए’ बस्नेतले स्पष्टीकरण दिँदै लेखेका छन्, ‘कसैको चरित्र हत्या गर्ने वा बदनाम गर्ने उद्देश्यले बिलकुल होइन। कतिपय पुराना पीडालाई कोट्याउने मनसाय पनि थिएन। तर समीक्षा बहिनीको टिप्पणीप्रति संवेदनशील बन्दै यदि मेरो अभिव्यक्तिमा कतै कमजोरी भएको भए म त्यसप्रति क्षमाप्रार्थी हुँदै बहिनीको भावना बुझेर मैले स्टाटसलाई केही संशोधन गरेको छु।’











