एमाले सचिवालयले उमेर र कार्यकाल सीमा हटाएपछि भीम रावलको टिप्पणी: ‘सुरसाझैँ मुख आँ गरिरहने झोले अध्यक्ष’

२०८२ श्रावण २, शुक्रबार

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुन: पार्टी अध्यक्ष बन्न पाउने गरी बिहीबार नेकपा एमालेको सचिवालय बैठकले उमेर हद र कार्यकाल सम्बन्धमा गरेको निर्णयले पार्टीभित्र तरंग छाइरहेका बेला ६ महिनाघि नै निष्कासित नेता भीम रावलले पनि टिप्पणी गरेका छन्।

बिहीबार दिउँसो पौने २ बजेदेखि राति साढे ११ बजेसम्म बसेको एमाले सचिवालय बैठकले तीव्र वादविवादपछि पार्टी नेतृत्वमा ७० वर्षे उमेर हद र २ कार्यकाल हटाउने निर्णय गरेको छ। यो निर्णयले आगामी महाधिवेशनमा वर्तमान अध्यक्ष ओली दोहोरिन नपाउने बाधा हटेको छ।

यो निर्णय गराउन एमाले सचिवालय बैठकमा व्यापक बहस भएको र नेताहरू दुई कित्तामा उभिएको समाचार पनि आइसकेको छ।  यद्यपि यो निर्णय पोलिटब्युरो बैठकले अनुमोदन गर्न बाँकी छ। तर यसबीच उमेर हद र कार्यकालको सीमा हटाउने सचिवालयको निर्णयका विषयमा एमाले पदाधिकारी सामाजिक सञ्जालमा पनि एकअर्काविरुद्ध टिप्पणी गरिरहेका छन्।

यसै मेलोमा २०८१ पुस १० गते नै पार्टीबाट निकालिएका रावलसमेत मिसिन आइपुगेका हुन्। उनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘जति भए पनि नअघाएर जसरी पनि सत्ता र पद खान पौराणिक कालकी सुरसाझैँ मुख आँ…गरिरहने झोले अध्यक्ष केपी ओली नै भएको निजका हालैका कामकुराबाट अब त सबैलाई प्रस्ट भयो होला, होइन र?’

खासगरी अध्यक्ष ओलीकै आलोचना गरेका कारण एमालेको संगठित सदस्यबाट समेत निष्कासित रावलले यसपछि पनि एमाले तथा ओलीका हरेक निर्णयमा टिकाटिप्पणी गर्न छाडेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार