कर्णाली : नेपाल कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सङ्घीयता बचाउनु तीन मुख्य दलहरूको साझा दायित्व भएको बताएका छन्।
भूमि समस्या समाधान आयोग जिल्ला समिति सुर्खेतद्वारा शुक्रबार सुर्खेतको लेकबेँसी तथा भेरीगङ्गा नगरपालिकामा आयोजित ‘जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रम’ मा उनले संविधान र सङ्घीयता रक्षा तथा यसको संस्थागत विकास गर्ने जिम्मेवारी नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को काँधमा रहेको बताए । “मुलुकको परिवर्तनका लागि त्याग र बलिदान गर्ने दलहरूका विरुद्ध अफवाह फैलाएर जनतामा निराशा छर्न थालिएको छ”, उनले भने, “यसमा कांग्रेस, एमाले र माओवादी तीनै दल गम्भीर बन्नुपर्दछ ।”
जनताका कुँडिएका मनमा मल्हम लगाएका उपसभापति खड्काले पार्टी, नेता तथा कार्यकर्ताले गरेका गलत सुधार्दै जनतासँग क्षमा मागेर अगाडि बढ्न सकेमात्र उनीहरूमा देखिएको निराशा र असन्तुष्टि घट्दै जाने विश्वास व्यक्त गरे । निवर्तमान उपप्रधानमन्त्रीसमेत रहेका खड्काले शुक्रबार पूर्वी सुर्खेतको लेकबेँसी र भेरीगङ्गा नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गरेका छन् । उनले लेकबेँसी नगरपालिकाका २१ जना र भेरीगङ्गा नगरपालिकाका दुई सय पाँच गरी दुई सय २६ जना भूमिहीनलाई जग्गाधनी पुर्जा हस्तान्तरण गरे ।
पुर्जा वितरण गर्दै उपसभापति खड्काले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा पाउनु खुसीको कुरा भएको बताए । नागरिक भए पनि करिब पाँच दशक लामो समयसम्म भूमिहीन सुकुम्बासी भएर बस्नु विडम्बना भएको जनाउँदै उनले वर्तमान सरकारले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए । भूमिसम्बन्धी समस्याको समाधान गर्न चाँडै भूमि विधेयक पारित गर्नेगरी छलफल चलिरहको भन्दै उनले भूमिको अधिकतम उपयोगका साथै व्यावसायिक खेती गरेर आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन आवश्यक रहेको उल्लेख गरे ।
सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि र कर्मचारीसँग जनताको असन्तुष्टि रहेको बेलैमा सच्चिनुपर्ने धारणा राख्दै उनले भने, “जिम्मेवारीमा रहेकाहरू लोभबाट, दलगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि जिम्मेवारीमा रहेको हुँ भन्ने सोच विकास गरेमात्र सबै कुरामा सुधार आउँछ । राजनीतिक दलहरूका लागि अहिले चुनौती यही नै हो ।” उनले आफू उपप्रधानमन्त्री हुँदका बखत दुई सय प्रतिशत रहेको राजस्वलाई घटाएर १० प्रतिशतमा झारेको जिकिर गरे ।
मतदाताहरूबाट राजस्व धेरै भयो भन्ने गुनासो आएकाले जग्गाको मूल्य बढ्दा राजस्व बढेको हो भन्ने कुरा उनीहरूलाई बुझाउनुपर्ने सुझाव उपसभापति खड्काले दिए । राजनीतिक प्रतिस्पर्धाका नाममा एकले अर्कालाई हिलो छ्याप्ने काम अन्त्य गर्नुपर्ने भन्दै उनले केन्द्रदेखि टोलसम्मका जनप्रतिनिधिले मतदाता किन असन्तुष्ट छन् भन्ने कुरा ख्याल गर्न जरुरी रहेको बताए ।











