पूर्वराष्ट्रपति दलगत राजनीतिमा ओर्लिनु गणतन्त्रको संस्कार र पद्धति होइन: निरज आचार्य

२०८२ श्रावण ६, मंगलवार

काठमाडौँ : नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः सक्रिय राजनीतिमा फर्किन कानुनी बाधा नभए पनि राजनीतिक र नैतिक प्रश्न उठ्ने बताएका छन्। एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विधान संशोधन सम्बन्धी आफ्ना धारणा राख्दै आचार्यले भण्डारीको पुनरागमनलाई कानुनी आँखाबाट मात्र हेर्न नसकिने बताए।

उनले भने, ‘कानुनी रूपमा हेर्दा, अरू कुनै नागरिकजस्तै उहाँलाई पनि राजनीति गर्ने अधिकार छ तर यो केवल कानुनी प्रश्न मात्र होइन, यो त राजनीतिक र नैतिक प्रश्न पनि हो।’

सर्वोच्च पदमा पुगिसकेर फेरि दलगत राजनीतिमा ओर्लिनु गणतन्त्रको संस्कार र पद्धतिअनुकूल नहुने धारणा पनि उनले राखे।

‘हामीले अवलम्बन गरेको गणतन्त्रमा राष्ट्रपतिको पद केवल कर्मकाण्डी औपचारिकता मात्र होइन, यो गणतन्त्रको गौरवको प्रतीक हो, सिंगो राजनीतिक प्रणालीको गजुर हो,’ उनले भने, ‘कुनै पनि व्यक्ति त्यस शिखरमा पुगी फेरि ओर्लिएर दलगत राजनीतिमा फर्कनु गणतन्त्रको संस्कार र पद्धति होइन।’

जर्मनी, भारत वा इटाली जस्ता देशमा पनि पूर्वराष्ट्रपतिहरूले प्रायः निष्कलंक, तटस्थ र गरिमामय सार्वजनिक जीवन रोज्ने गरेको दृष्टान्त प्रस्तुत गर्दै उनले अगाडि भने, ‘त्यो परम्परा किन पनि आवश्यक छ भने राष्ट्रको सर्वाेच्च पदबाट बोलिएका प्रत्येक शब्दले सम्पूर्ण जनताको प्रतिनिधित्व गर्दछ। त्यसैले, एमालेजस्तो जिम्मेवार दलले यसबारे स्पष्ट निर्णय लिनुपर्छ। प्रणाली बलियो बनाउने हो भने यस्तो विषयमा अलमल होइन, स्पष्ट किटानीका साथ निर्णय गरेर अगाडि बढ्नुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार