ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

२०८२ श्रावण ११, आईतवार

काठमाडौं : मकवानपुरको मनहरीमा आइतबार दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार एक महिला गम्भीर घाइते भएकी छिन्।

प्रहरीका अनुसार, दिउँसो करिब २:३० बजे मनहरी गाउँपालिका–७, रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ३०४० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०३-०४ प ११६२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा परी स्कुटर चालक चितवनको भरतपुर महानगरपालिका–११ निवासी अन्दाजी ५१/५२ वर्षीय मोतिबहादुर क्षेत्री गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल पठाइएकोमा उपचारकै क्रममा दिउँसो ३:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव हाल हेटौँडा अस्पतालमा राखिएको छ। स्कुटरको पछाडि सवार चितवन भरतपुर–९, सरदपुरकी अन्दाजी ३६/३७ वर्षीया नरमाया गुरूङ गम्भीर घाइते भएकी छिन्।

उनको दाहिने खुट्टा, हात, टाउको र अनुहारमा चोट लागेको छ। घाइते गुरुङको अवस्था गम्भीर तर सामान्य बोल्न सक्ने रहेको र उनको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विशाल सापकोटाको कमाण्डमा खटिएको टोलीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाइन नगरपालिका–२ का ३५ वर्षीय अशोक यादव रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार