काठमाडौं : टेरामक्स प्रकरणमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा ३ लाख धरौटी बुझाएर रिहा भएका छन्।
आइतबार विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झासँग भ्रष्टाचार मुद्दाको ३ लाख रूपैयाँ धरौटी माग गरेको थियो। उनी अदालतले माग गरेको धरौटी रकम बुझाएर रिहा भएका हुन्।
यस प्रकरणमा तत्कालीन सञ्चारमन्त्री एवं कांग्रेस सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाउपर ३ अर्ब २१ करोड ८३ लाख घोटाला गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ १ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।








