काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग अब कुनैपनि सम्झौता नहुने बताएका छन् ।
कर्णालीका केन्द्रीय सदस्यहरुलाई शनिबार राति बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले पार्टीभित्र उत्पन्न समस्याबारे लामै ब्रिफिङ पश्चात् निर्देशन दिएका थिए । ‘तीन घण्टा जति छलफल भयो, पहिले नेताहरुबाट ब्रिफिङ लिएपछि अध्यक्ष कमरेडले दुई घण्टा लामो कुरा राख्नुभएको थियो’, त्यो छलफलमा सहभागी एक नेता भन्छन् ।
कर्णालीबाट केन्द्रीय कमिटीमा रहेका २७ मध्ये २२ नेता सहभागी बालुवाटारमा भएको छलफलमा ओलीले आफ्नो कुरा झापा विद्रोहका सन्दर्भबाट थालेका थिए । ‘विद्रोहकालीन कुराहरु भन्न आधा घण्टा खर्चनुभयो, त्यसपछि पूर्वराष्ट्रपतिबारे भएका कुराहरु सुनाउनुभयो’, स्रोतले भन्यो ।
भण्डारीलाई आफूले नै राष्ट्रपति बनाएको पृष्ठभूमि सम्झँदै ओलीले त्यसैबेला फेरि राजनीतिमा फर्कन नमिल्ने परिस्थिति जानकारीमा रहेको बताएका थिए ।








