काठमाडौं : स्टार स्ट्राइकर लियोनल मेस्सीको २ गोल मद्दतमा फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटअन्तर्गत शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुएलामाथि ३-० को जित निकालेको छ ।
घरेलु मैदानमा अर्जेन्टिनाको जितमा मेस्सीको २ गोलसँगै लाउतारो मार्टिनेजले पनि १ गोल गरे । खेलको ३९औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ७६औं मिनेटमा लाउतारोले गोल गरे। ८०औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनाको ३-० को जित पक्का गरे ।
छनोटको तालिकामा शीर्षस्थानमा रहेको अर्जेन्टिना यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । अर्जेन्टिनाका लागि विश्वकप छनोटको यो अन्तिम ‘होम’ खेल थियो । मेस्सीको पनि घरेलु मैदानमा करियरकै अन्तिम खेल मानिएको छ ।











