रुसद्वारा पहिलोपटक युक्रेनको मुख्य सरकारी भवनमा आक्रमण

२०८२ भाद्र २२, आईतवार

काठमाडौँ : युक्रेनका प्रधानमन्त्री युलिया स्विरिडेन्कोले रुसले पहिलोपटक युक्रेनको मुख्य सरकारी भवनमा आक्रमण गरेको बताएकी छन्।स्विरिडेन्कोले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पहिलोपटक शत्रुको आक्रमणमा सरकारी भवनको छाना र माथिल्लो तला क्षतिग्रस्त भएको छ। उद्धारकर्मीहरूले आगो निभाइरहेका छन्।’

किएभका मेयर भिटाली क्लिट्स्कोले सरकारी भवनमा आगलागी ‘ड्रोन आक्रमण’का कारण भएको बताएका छन्। क्लिट्स्कोले टेलिग्राममा भवन मध्य पेचेर्स्की जिल्लामा रहेको र अग्निनियन्त्रकहरूले अझै पनि आगो निभाउने काम गरिरहेको बताएका छन्।

किएभका अन्य भागमा पनि आक्रमण भएका छन्। यीमध्ये एउटा गोदाम, १६ तले आवासीय भवन र चार तले भवन रहेको बीबीसीले जनाएको छ। युक्रेनी अधिकारीहरूले राजधानी किएभमा रुसले राति गरेको ड्रोन हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको र १३ जना घाइते भएको बताएका छन्।

रुसले मध्य युक्रेनमा रहेको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको गृहनगर क्रिभी रिहमा पनि आक्रमण गरेको छ। आइतबार बिहान किएभमा धेरै विस्फोट भएका थिए। बीबीसीका अनुसार यीमध्ये कम्तीमा एउटा विस्फोट सहरको केन्द्रमा भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार