काठमाडौं : सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-४ चारकिलोस्थित सडकमा बा.८९ प ९७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार अष्ट्रेलियन नागरिक ६८ वर्षीया Janet Jackson को मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्वाकन इन्टरनेशनल अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सुनसरी, धरान उपमहानगरपालिका-१७ रत्नचोकस्थित सडकमा प्र.१-०२-०५२ प ५१४६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१७ बस्ने ५० वर्षीया गंगा भट्टराईको मृत्यु भएको छ । शनिबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । हाल फरार स्कुटर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सल्यान, कपुरकोट गाउँपालिका-३ चोरखोलास्थित सडकमा रूकुम पश्चिमदेखि दाङतर्फ जाँदै गरेको लु.२ ख ६५०२ नम्बरको फोर्स गाडी आइतबार बिहान दुर्घटना हुँदा गाडीमा सवार रूकुम पश्चिम बाँफीकोट गाउँपालिका-५ बस्ने २५ वर्षीय प्रकाश केसी, ६८ वर्षीया पबि केसी र २७ वर्षीय शसिधर केसीको घटनास्थलमै मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य २ जनालाई थप उपचारको लागि नेपालगंजतर्फ पठाइएको छ ।









