काठमाडौं : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पेनाल्टी सुटआउटमा भारतलाई नेपालले पराजित गरेको छ। बुधबार सिक्किमको पाल्जोर रंगशालामा १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएकाे हाे।
सोमबार पनि नेपालले भारतलाई २–१ ले हराएको थियो। नेपालको लागि सविता रानामगर, रश्मीकुमारी घिसिङ र निशा थोकरको प्रहार गोल भएको थियो। नेपालकी कप्तान अनिता बस्नेतको प्रहार बाहिरिएको थियो। भारतको लागि प्रिया दर्शनी र अष्टम ओरामको पेनाल्टी प्रहार वैकल्पिक गोलकिपर अञ्जना रानामगरले रोकिन्। सन्तोषको प्रहार बाहिरिएको थियो।
यसअघि भारतले ३०औं मिनेटमा गोल गर्दै अग्रता बनाएको थियो। भारतको लागि सौम्या गुगुलोथले गोल गरिन्। नेपाली डिफेन्डर निशा थोकरले गरेको गल्तीको फाइदा उठाउँदै सौम्याले गोल गरेकी हुन्। उनको प्रहार सन् २०१९ पछि पहिलो पटक अवसर पाएकी उषा नाथले रोक्न सकिनन्।
पहिलो हाफको इन्जुरी समयमा नेपालले बराबरी गोल फर्कायो। रश्मीकुमारी घिसिङले गोल गरिन्। उनले कप्तान अनिता बस्नेतको कर्नरलाई हेडमार्फत गोल गरिन्। भारतविरुद्ध उनको यो दोस्रो गोल हो। यसअघि सन् २०२२ मा उनले भारतविरुद्ध विजयी गोल गरेकी थिइन्।
भारतसँगको मैत्रीपूर्ण खेलमा प्रशिक्षक नवीन न्यौपानेले १० नयाँ खेलाडीलाई मौका दिएका थिए। यसअघि अन्तर्राष्ट्रिय खेलमा नेपाल इरानसँग ३–० ले पराजित हुँदा घरेलु टोली भारतलाई २–१ ले हराएको थियो।









