काठमाडौं : काठमाडौंको इचंगुनारायण मन्दिर परिसरमा हतियार देखाइ सर्वसाधारणमा आतंक सिर्जना गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा २३ वर्षका समीर श्रेष्ठ र एलेक्स नेपाली रहेका छन् । समीर नुवाकोटको लिखु गाउँपालिका–६ घर भइ हाल काठमाडौं महानगरपालिका–१७ नयाँ बजारमा बस्दै आइरहेका छन् भने एलेक्स काभ्रे पनौती नगरपालिका–१० घर भइ हाल काठमाडौं महानगर–१६ क्षेत्रपाटीमा बस्दै आइरहेका छन् ।
इचंगुनारायण मन्दिर एरियामा उनीहरुले पेस्तोल पड्काएर सर्वसाधारणमा त्रास सिर्जना गर्ने गरेका थिए । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति काठमाडौं महानगर–१८ ढल्कूबाट पक्राउ गरेको हो ।
उनीहरुको साथबाट पेस्तोलसहित १२ राउण्ड गोली समेत बरामद गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले जानकारी दिए ।









