काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता गर्न हतार गर्न नहुने बताएका छन् ।
‘नेपाली कम्युनिस्ट आन्दोलनको वैचारिक सांस्कृतिक रूपान्तरण, एकीकरण र पुनर्गठन आजको आवश्यकता हो । र त्यस दिशामा सार्थक पहल समयको निर्देश हो,’ उनले भनेका छन्, ‘तर, एकीकरण प्रक्रियालाई समग्र कम्युनिस्ट आन्दोलनले माग गरे अनुसारको रूपान्तरण र पुनर्गठनसहितको एकीकरणको रूपमा अघि बढाउन सकिए मात्र त्यो औचित्यपूर्ण र सकारात्मक परिणामयुक्त हुनेछ ।’
माओवादी र नेकपा एकीकृत समाजवादीको पार्टी एकता प्रक्रियालाई पनि समग्र कम्युनिस्ट आन्दोलनको मागअनुसार नै हेर्नुपर्ने उनको तर्क छ ।
श्रेष्ठले थपेका छन्, ‘तर यो एकता प्रक्रियाले समग्र कम्युनिस्ट आन्दोलनको रूपान्तरण एवं पुनर्गठन अभियानको प्रस्थान विन्दुको भूमिका खेल्न सक्नु पर्छ र सम्बन्धित पार्टीहरू विभाजित भएर होइन समाष्टिरूपमा नै एकता प्रक्रियामा सामेल हुने सुनिश्चित हुनुपर्छ । त्यस निम्ति धैर्यतापूर्वक प्रयत्न गरौँ । हतार गरेर न समग्र एकता, न सार्थक पुनर्गठनको स्थिति नबनोस् भन्नेमा सचेत हुनुपर्छ ।’









