काठमाडौं : प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारी मन्दिर प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका–२ मा पर्दछ ।
समुद्र सतहदेखि करिब दुई हजार ३०० मिटर उचाइमा अवस्थित यो मन्दिर हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ । स्वर्गद्वारी मन्दिर प्युठान जिल्लाको सदरमुकाम खलङ्गाबाट करिब २६ किलोमिटर पश्चिममा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । नेपालका प्राचीन मन्दिरहरूमध्ये यो मन्दिरलाई एक मानिन्छ ।
पौराणिक कालमा पाण्डवहरू स्वर्ग जाँदा यहाँको बाटो भएर गएको द्वार हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ। यहाँ पालिएका गाई, महाप्रभुको दर्शन गर्नाले पुण्य पाइने र मनोकांक्षा पूरा हुने विश्वास छ । वैशाख पूर्णिमा, बुद्धजयन्ती र उभौली पर्वको अवसरमा स्वर्गद्वारीमा हरेक वर्ष मेला लाग्छ ।









