काठमाडौं : नेपाली महिला क्रिकेट टोलीले यही नोभेम्बर १३ देखि १९ सम्म भारतका तीन घरेलु टोलीसँग मैत्रीपूर्ण टी-२० खेल खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विज्ञप्ति जारी गर्दै नेपाली टोलीको भारत भ्रमणबारे जानकारी गराएको हो । यस टुरका लागि १५ सदस्यीय नेपाली टोलीको पनि घोषणा भएको छ ।
नेपालले १३ नोभेम्बरमा राजस्थान, १४ नोभेम्बरमा उत्तराखण्ड, १५ नोभेम्बरमा बंगालको टिमसँग खेल्ने छ । त्यस्तै १७, १८ र १९ नोभेम्बरमा क्रमश: सोही टिमसँग दोस्रोपटक खेल्नेछ । सबै खेलहरू देहरादुनको चिदरवालास्थित आयुष क्रिकेट एकेडेमीमा हुनेछन् ।
नेपालको टोली : इन्दु बर्मा (कप्तान), कविता कुँवर, सना प्रविण, रुबिना क्षेत्री, अलिसा यादव, ईश्वरी बिष्ट, रोमा थापा, अश्मिना कर्मचार्य, सबनम राई, बिन्दु रावल, पूजा महतो, लक्ष्मी साउद, मनीषा उपाध्याय, सीमाना केसी, ममता चौधरी।








