काठमाडौँ : नेपालको फिनटेक क्षेत्रलाई सुदृढ र एकीकृत बनाउन कार्यरत गैर–नाफामूलक संस्था फिनटेक अलायन्स नेपाल आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ कार्यसमिति चयन गरेको छ।
आइतबार ललितपुरस्थित स्क्वायर होटलमा सम्पन्न वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो। साधारण सभाले यस अवधिका लागि सात सदस्यीय कार्यसमिति पनि चयन गरेको छ, जसमा विभिन्न वित्तीय संस्था र प्रविधि क्षेत्रका प्रतिनिधिहरू समावेश छन्।
नयाँ कार्यसमितिको अध्यक्षमा आईएमई खल्ती लिमिटेड का सह–संस्थापक तथा निर्देशक अमित अग्रवाल चयन भएका छन् भने सदस्यहरूमा सीनर्जी टेक सफ्टवेयर प्रालिका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र खड्का, प्लान बी सलुसंस प्रालिका सह–संस्थापक बिनोद पोखरेल, माछापुच्छ्रे बैंकका वरिष्ठ सम्बन्ध व्यवस्थापक विकाश श्रेष्ठ, आइमार्क प्रालिका सञ्चालक अशिष शर्मा, एनसीएचएल लमिटेडका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारी र आइएमएस सफ्टवेयर प्रालिका प्रबन्ध निर्देशक सन्तोष ताम्राकार रहेका छन् ।
कार्यक्रममा अध्यक्ष अग्रवालले जिम्मेवारी ग्रहणपछि फिनटेक क्षेत्रमा सहकार्य, नवप्रवर्तन र दिगो विकासलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरे। तीन वर्षअघि स्थापना भएको फिनटेक अलायन्स नेपाल अहिले देशकै प्रमुख फिनटेक संस्थामध्ये एकका रूपमा विकसित भइसकेको छ, जसमा हाल ३० बढ़ी संस्थागत सदस्य छन् र संख्या तीव्र रूपमा बढ्दो क्रममा छ।
संस्थाले सञ्चालन गर्दै आएका कार्यक्रमहरू जस्तै फिनटेक फ्राइडे (सीप र ज्ञान सत्र), फिनहाइक (सामाजिक र मनोरञ्जनात्मक गतिविधि), र फिनटेक सोसल (नेटवर्किङ सत्र) निकै लोकप्रिय छन्। साथै, संस्थाले नेपाली फिनटेक र आइटी उद्यमीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा पनि परिचित गराउँदै आएको छ, जसले नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ अघि बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ।








