काठमाडौँ : मधेस प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध नेपाली कांग्रेस नेतृत्वको ७ दलीय गठबन्धन अदालत जाने भएको छ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टीले मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति बदरको माग गर्दै अदालत जाने निर्णय गरेका हुन्।
उनीहरूले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको विरोध जनाउँदै आएका छन्।
‘सातै दलका नेताहरू र सांसदहरू बसेर छलफल गरियो। अब अदालत र अन्य कहाँ जाने हो सबै ठाउँमा कानुनी उपचारका लागि सँगै जाने निर्णय गर्यौँ’ निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले
‘हामी आज बैठक बस्यौं। प्रदेश प्रमुखबाट गैरसंवैधानि काम भएको छ,’ निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले भने।
संविधानको धारा १६८ (२) अनुसार सरकार बन्ने र तदनुरूप समर्थनसमेत जुटिसकेको अवस्थामा प्रदेश प्रमुखले एमाले दलको नेतालाई होटलमा मुख्यमन्त्री नियुक्त गर्दै शपथ गराएको भन्दै सात दल आन्दोलित छन्।
७ दलका नेता कार्यकर्ताले मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालयमा तोडफोड, कर्मचारीमाथि हातपात गर्दै यसको विरोध गरिरहेका छन्। त्यस्तै उनीहरूले प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तालासमेत लगाएका छन्।
प्रदेश प्रमुख सुमीत्रा सुवेदी भण्डारीले सोमबार राति यादवलाई बर्दिवासको पानस होटलमा शपथ खुवाएकी थिइन्।








