काठमाडौँ : सर्वोच्च अदालतले निकोलस भनिने कमल भुसाललाई थुनामुक्त गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश डा. नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासले सोमबार बन्दी प्रत्यक्षीकरणको रिट खारेज गर्दै परमादेश जारी गरेको हो प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। सुनिलप्रसाद साह कलवारले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए ।
प्रहरी हिरासतमा रहेका भुसालले अनसन शुरू गरेका थिए । उनको स्वास्थ्य अवस्था बिग्रिएको भन्दै सर्वोच्चका न्यायाधीश सुनील पोखरेलको इजलासले उनलाई अदालतमा उपस्थित गराउन आदेश जारी गरेको थियो ।
सामाजिक सञ्जालमार्फत् अमर्यादित अभिव्यक्ति दिएको आरोपमा प्रहरीले भुसाललाई कात्तिक १८ गते गोरखाबाट पक्राउ गरेको थियो । उनले प्रधानमन्त्री निवास बालुवाटारमा ड्रोन खसाल्ने अभिव्यक्ति दिएका थिए । जेनजी आन्दोलनमा भएको दमनमा संलग्नलाई कारबाहीको माग गर्दै उनले आन्दोलन समेत घोषणा गरेका थिए ।








