दिल्लीमा कार बम विस्फाेट, ८ जनाको मृत्यु

२०८२ कार्तिक २४, सोमबार

काठमाडौं : भारतको राजधानी नयाँ दिल्लीको ऐतिहासिक लाल किल्ला नजिकै एक कारमा शक्तिशाली विष्फोट भएको छ। विष्फोटमा परि कम्तिमा ८ जनाले ज्यान गुमाएका छन् भने २४ जना घाइते भएका छन्।

सोमबार साँझ करिब ६:५५ बजे फोर्ट मेट्रो स्टेशनको पार्किङमा रोकिराखिएको कारमा विष्फोट भएको थियो। विष्फोटपछि दिल्ली, मुम्बई, उत्तर प्रदेश र हरियाणामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। विष्फोटको कारण भने स्पष्ट भइसकेको छैन। घटनाको प्रकृति हेर्दा आतंकवादी हमला हुन सक्ने आशंका गरिएको छ।

विष्फोटपछि लागेको आगोले त्यस क्षेत्र वरपर रहेका अन्य तीनवटा गाडीलाई समेत आफ्नो चपेटामा लिएको थियो। सबै सवारी पूर्ण रूपमा जलेर नष्ट भएका छन्। घटनालगत्तै दिल्ली पुलिसले सम्पूर्ण इलाका ‘सिल’ गरी अनुसन्धान सुरु गरेको छ। घटनास्थलमा ७ वटा दमकल, दिल्ली प्रहरीको विशेष सेल, फरेन्सिक टोली, राष्ट्रिय अनुसन्धान एजेन्सी र राष्ट्रिय सुरक्षा गार्डको कमाण्डो टोली पुगेर अनुसन्धानलाई तीव्र बनाएको छ।

घाइतेहरूलाई तत्काल नजिकैको लोक नायक जय प्रकाश नारायण अस्पतालमा लगिएको थियो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्टका अनुसार ८ जनाको अस्पताल ल्याउनुअघि नै मृत्यु भइसकेको थियो भने तीन जनाको अवस्था गम्भीर छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै केन्द्रीय गृहमन्त्री अमित शाहले दिल्लीका प्रहरी आयुक्तसँग तत्काल कुराकानी गरी घटनाको जानकारी लिएका छन्।

उनी राष्ट्रिय अनुसन्धान ब्यूरोका निर्देशकसँग निरन्तर सम्पर्कमा रहेको बताइएको छ। दिल्ली विष्फोटपछि उत्तर प्रदेशमा ‘रेड अलर्ट’ जारी गरिएको छ। एडीजी कानुन व्यवस्था अमिताभ यशले राज्यका सबै वरिष्ठ अधिकारीहरूलाई संवेदनशील धार्मिक स्थल, जिल्ला र सीमावर्ती क्षेत्रमा गस्ती र जाँच बढाउन निर्देशन दिएका छन्।

यसैगरी, महाराष्ट्र र हरियाणामा पनि उच्च सतर्कता अपनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार