काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयु चार महिना पनि बाँकी नरहेको भन्दै मन्त्रीहरूलाई संयमित भएर बोल्न र व्यवहार गर्न चेतावनी दिएका छन्।
उनले सरकारका पछिल्ला गतिविधिहरू गैरजिम्मेवार र कूटनीतिक मर्यादाविपरीत भएको भन्दै चर्को आलोचना गरे। सोमबार पार्टीको ‘घर फर्क राष्ट्रिय अभियान’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘सरकारका मन्त्रीजीहरूलाई म धेरै जिब्रो नचलाउन आग्रह गर्न चाहन्छु। अलिकति सम्हालिएर बोल्ने, व्यवहार गर्ने गर्नुपर्छ।’
उनले सरकारको म्याद छोटो भएको तर मन्त्रीहरूको फुर्ती भने स्थायी सरकारको जस्तो देखिएको भन्दै व्यङ्ग्य गरे। ‘म्याद चार महिना बाँकी छैन, फुर्तीचाहिँ घाम जून रहुन्जेल रहने जस्तै छ,’ ओलीले भने। अध्यक्ष ओलीले सरकारले विभिन्न देशबाट राजदूत फिर्ता बोलाउने र परराष्ट्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिने निर्णयको भर्त्सना गरे। उनले यस्तो कदमले सरकारको कूटनीतिक अज्ञानता र अपरिपक्वता छताछुल्ल पारेको टिप्पणी गरे।
‘राजदूत फर्केर आएर परराष्ट्र मन्त्रालयमा हाजिर हुनु भन्ने ! कानुन थाहा छ कि छैन ? कूटनीति थाहा छ कि छैन ? एम्बेसेडर भनेको के हो थाहा छ कि छैन ?’ ओलीले प्रश्न गरे। उनले राजदूत देशको प्रतिनिधि भएको र उसलाई कर्मचारीलाई जस्तो व्यवहार गर्न नमिल्ने बताए।
उनले थपे, ‘फिर्ता बोलाइएका राजदूतहरू इन-सर्भिसका कर्मचारी होइनन्। उनीहरूलाई फिर्ता बोलाएर परराष्ट्र मन्त्रालयमा हाजिर गराउने कुरा कुन संसारको आदेश हो ? कुन संसारमा छ यो सरकार ?’








