काठमाडौं : विराटनगरको बरगाछी चोकमा मंगलबार साँझ भारतीय मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सर्लाही जिल्लाको हरिपुर नगरपालिका घर भएकी ४५ वर्षीया रोहिला कोइराला अधिकारी रहेकी छन् । श्रीमान् विमल कोइरालाले चलाइरहेको मोटरसाइकलको पछाडि सवार रहेकी अधिकारीको मालवाहक सवारीको ठक्करपछि घटनास्थलमै मृत्यु भएको स्थानीयले दाबी गरेका छन् ।
मोटरसाइकल चालक मृतकका श्रीमान् भने सकुशल रहेका छन्। मृतक अधिकारीको शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पतालमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।








