काठमाडौँ : सरकारले लुम्बिनी विकास कोष, लुम्बिनी विकास परिषदकाे सदस्यसचिवमा गोरखाका दीपक श्रेष्ठलाई नियुक्ति गरेको छ।
सिंहदरबारमा शुक्रबार बसेको मन्त्रीपरिषदकाे बैठकले साेही निर्णय गरेको हो। बैठकपछि सरकारका निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बंगलादेशको ढाकामा यही मंसिर १० र ११ गते हुने नेपाल-बंगलादेश उर्जा क्षेत्रमा सहकार्य गर्न गठित संयुक्त कार्यसमूह तथा संयुक्त सञ्चालक समितिको सातौं बैठकमा उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवि चटौत नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको बताए।
उनका अनुसार सरकारले नयाँ सम्झौताअनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि ७ लाख थान विद्युतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसँग भेरिएसन आदेशबाट खरिद गर्न राहदानी विभागलाई स्वीकृति दिने निर्णय गरेको छ। नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथी र एक जना सहायक रथीलाई उपरथि दर्जामा विशेष बढुवा गर्ने निर्णय भएको छ।











