काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा ब्युँतिने ठोकुवा गरेका छन्।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले असंवैधानिक तवरले विघटन गरिएको संसद् पुनर्स्थापनाको अर्को विकल्प नरहेको जिकिर गरेका हुन्। अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटनको सिफारिसलाई नै अनाधिकृत र असंवैधानिक भएको बताए। उनले संविधान विपरित गरिएको सिफारिसका आधारमा संसद भंग हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै यसलाई सच्याउनुपर्नेमा जोड दिए।
सम्बोधनका क्रममा ओलीले भने, ‘अनाधिकृत र असंवैधानिक सिफारिसमा भंग भएको प्रतिनिधिसभाको अविलम्ब पुनर्स्थापना हुनुपर्दछ र हुन्छ अब, अर्को बाटो छैन।’ संसद् पुनर्स्थापनाको माग गर्दै ओलीले देशलाई निकास दिने सामर्थ्य एमालेसँग मात्र रहेको दाबी गरे। उनले भने, ‘समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यमा पुग्न र परिपूर्ण लोकतन्त्रको माध्यमबाट जनताको बहुदलीय जनवाद कार्यान्वयन गर्न एमाले निर्णायक राष्ट्रिय शक्तिको रूपमा अगाडि बढ्नेछ।’
ओलीले आजको विशाल जनप्रदर्शन र र्याली संसद् पुनर्स्थापनाको संकल्प र एमालेको शक्ति प्रदर्शनका लागि आयोजना गरिएको प्रष्ट पारे। उनले देशलाई विधिको शासनमा फर्काउन र संविधानको रक्षा गर्न आफ्नो पार्टी दृढ संकल्पित रहेको सन्देश समेत दिए।











