बागलुङ : बसाइँसराइले हरेक वर्ष गाउँका घर रित्तिँदै छन्। खेतीयोग्य जमिन वनमाराले ढाक्दैछ। गाउँमा बस्नेहरू कोही पनि खाली बस्दैनन्। उनीहरू बिहानदेखि साँझसम्म बारीमै काम गर्छन्।
अशिकांश स्थानीयले बारीमा साग, मुला, बन्दा, गोलभेँडालगायत विभिन्न प्रजातिका तरकारी फलाउँछन्। कोहीले उत्पदान गर्छन्। यही बेचेरै आफ्नो परिवार चलाउँछन्। बागलुङको काठेखोला गाउँपालिका–८ लेखानी जिल्ला सदरमुकाम बागलुङ बजार नजिकैको गाउँ हो।
विकासका हिसाबले लेखानी गाउँ सुगम नै मानिए पनि धेरैको रोजाइ सहरबजार र विदेश परेको छ। तर गाउँमा बस्नेलाई भने आफ्नै खेतबारी र खेतीपाती प्यारो छ। यस गाउँका झण्डै एक सय परिवार तरकारी खेतीमा आबद्ध छन्। बजार नजिक र तरकारी खेतीका लागि उपयुक्त वातावरण भएको हुँदा किसानको आकर्षण पनि उत्तिकै छ। धान, गहुँ, मकै र कोदो उत्पादन गर्न धेरै जनशक्ति चाहिने र खर्च पनि बढी हुनेहुँदा पछिल्लो समय अधिकांश स्थानीय तरकारी खेतीमा आबद्ध भएका हुन्।
तरकारी खेतीबाट राम्रो आम्दानी हुने हुँदा लेखानीवासीले गर्दै आएको कर्म छिमेकी गाउँलेले पनि सिको गर्न थालेका छन्। पहिले बन्दा र काउली बजारबाट किनेर लैजाने स्थानीय अहिले हजारौँ किलो तरकारी बजार पठाउँछन्। व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि स्थानीयको जीवनस्तर सुधार हुँदै गएको स्थानीय लीलाधर कँडेलले बताए। गाउँमै तरकारी खेती गरेर सहज रूपमा परिवार पाल्न सकिँदासकिँदै पनि धेरैले सहर रोज्ने गरेको उनी बताउँछन्।
उनले भने, ‘गाउँमा सुन फलाउन सकिन्छ, तर गाउँका मान्छे कोही जापान, कोही कोरिया, कोही अमेरिका, कोही चितवन, पोखरा, काठमाडौं गए, गाउँमा भएकाले खेती किसानी गर्न थालियो, सुरुमा त आफू जान नपाएकामा निरासा लाग्थ्यो, तर अहिले यहीँ खुसी लाग्छ, तरकारीले त गाउँका धेरैलाई खुसी दिएको छ, तरकारी खेती गरेका कोही पनि भोकै बस्नुपरेको छैन, राम्रै खान पाएका छन्, राम्रै लाउन पाएका छन्।’
गाउँका किसानलाई स्थानीय पालिका र विभिन्न सङ्घसंस्थाले पनि सहयोग गर्दै आएका छन्। अनुदान र प्राविधिकसहित तालिम पाएका स्थानीय उत्साहित बनेका छन्। गाउँभरि प्लास्टिकका टनेल भेटिन्छन्। गाउँलेले तरकारी खेतीप्रति रुचि देखाएपछि दुई वर्ष अगाडि गाजा फाउन्डेसनले ५० परिवारलाई तरकारी खेती गर्ने तालिम र अनुदानसमेत दिएको थियो। त्यसपछि गाउँमा तरकारी खेती गर्नेको लर्को लाग्न थालेको छ।
तरकारी खेती गर्न थालेपछि परिवारको आर्थिक अवस्था उकासिएको स्थानीय लक्ष्मी कँडेलले बताए। तरकारी बेच्न थालेपछि परिवारको खर्च चलाउन सहज भन्दै बजार नजिक रहेको हुँदा बिक्रीका लागि समस्या नभएको उनको भनाइ छ। गाउँबाट दैनिक गाडी बजार जानेआउने हुँदा तकारी पठाउन र सामान ल्याउनका लागि सहज भएको कँडेलले बताए। सुरुमा एउटा बारीमा मात्र सुरु गरेको तरकारी खेती अहिले बढाएर तीन बारीमा गर्न थालेको उनी बताउँछन्।
‘तरकारी खेती गर्नका लागि विभिन्न संस्थाले प्रेरित गरे, सुरुमा छिमेकी बसाइँ सरेर तराई जाँदा मलाई पनि जानुपर्छ कि भन्ने सोच आएको थियो, तर अहिले गाउँका छरछिमेक सबैले तरकारी खेती गर्न थालेपछि यहीँ रमाइलो लाग्न थाल्यो,’ उनले भने, ‘बजार पाइँदैन कि भन्ने समस्या त छैन, कहिलेकाहीँ बाहिरबाट सस्तोमा तरकारी आउँदा हामीले पनि कम मूल्यमा दिनुपर्ने अवस्था आउँछ, राज्यले बाहिरबाट आउने तरकारीलाई रोक्न सके हामीजस्ता किसानले भनेको जस्तो मूल्य पाइन्थ्यो।’
पहिले परम्परागत रूपमा तरकारी खेती गर्दा उत्पादन बढाउन नसकेको भन्दै अहिले वार्षिक रु पाँच लाख बढीको तरकारी बिक्री गर्ने गरेको स्थानीय लीलप्रसाद कँडेलले बताए। आफूले एक दशकदेखि नै तरकारी खेती गर्दै आएको सुनाउँदै गत वर्षदेखि खेतीलाई थप विस्तार गरेको उनको भनाइ छ। पहिले गाउँमा तरकारी बेच्ने चलन नभएको सुनाउँदै पछिल्लो समय किसान व्यावसायिक बन्दै गएको कँडेलले बताए।











