काठमाडौं : जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा स्थान पक्का गरेको छ।
शनिबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै दोस्रो सिजनमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको हो । त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७ ओभर ४ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतक बनाए । उनले ३५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ५६ रन बनाए । लिग चरणमा दुई खेल खेल्नु अगावै सुदूरपश्चिमले शीर्ष चारमा स्थान पक्का गरेको छ ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५०, जान निकलो लोफ्टी ईटनले ३९ रनको योगदान गरे । बलिङमा सुदूरपश्चिमका अभिनाश बोहराले चार, स्कट कुगेलेइन तीन विकेट लिए ।









