मुस्ताङ : यहाँको थासाङ गाउँपालिका–४ स्थित राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना घाँसामा पर्यटक लोभ्याउने मनमोहक सिद्ध झरना पर्दछ । आवश्यक पूर्वाधार नहुनु तथा प्रचारप्रसारको अभावमा सिद्ध झरना ओझेलमा पर्दै आएको छ ।
म्याग्दी र मुस्ताङको प्रवेशद्वारका रूपमा रहेको थासाङ–४ घाँसागाउँको बीच भागमा पर्ने राष्ट्रिय राजमार्गको पञ्चिमतर्फको घनाजङ्गलसहितको पहाडबाट उक्त झरनाबाट जल प्रवाह भएको अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहबाट करिब दुई हजार मिटर उचाइमा अवस्थित सिद्ध झरना प्राकृतिक रूपमा उत्पत्ति भएको स्थानीय बताउँछन् ।
प्रत्येक वर्ष एक पटक स्थानीयले यहाँ सिद्ध बराहको पूजाआजा गर्नाका साथै पशु बलि दिने प्रचलन रहेको स्थानीय पुनित गौचनले जानकारी दिए । उनका अनुसार यो मनमोहक झरनालाई स्थानीय भाषामा ‘छेछेरे’ भन्ने गरिएको छ ।
झरनाको फेदमा बर्सेनि जेठको पूर्णिमा तिथिमा गाउँलेले सिद्ध बराहको सामूहिक पूजाआजा गरी बोका र भाले चढाएर पशु बलि दिने प्रचलन रहेको स्थानीय गौचनले बताए । यसरी झरनामा पूजा गरी बलि दिने कार्यक्रममा प्रत्येक घरधुरीबाट एक/एक जना अनिवार्य उपस्थिति हुनुपर्ने परम्परा रहेको उनले जानकारी दिए ।
आकर्षक र लोभलाग्दो तरिकाले प्रवाह भइरहने मनमोहक सिद्ध झरनासम्म पुग्ने मार्गसहित आवश्यक पूर्वाधार निर्माण नहुँदा र प्रचारप्रसारको अभावले ओझेलमा परेको स्थानीय गौचनले उल्लेख गरे ।









