म र माधवजी रातभर बसेर अहिलेको सरकार बनाएका हौँ : प्रचण्ड

२०८२ मंसिर १४, आईतवार

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले वर्तमान सरकारको निर्माणकर्ता आफूहरू नै भएको दाबी गर्दै निर्धारित मितिमै चुनाव हुनुपर्ने बताएका छन् ।

आइतबार पोखराको चिप्लेढुंगामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै दाहालले यस्तो खबरदारी गरेका हुन् । सरकारलाई चुनावी वातावरण बनाउन आग्रह गर्दै दाहलले भने, ‘यो सरकार मैले र माधव नेपालले रातभर बसेर सहमति गरेर बनाएको हो। जसको जनाधार बढी छ, उसैलाई बेवास्ता गरेर चुनावी वातावरण बनाइएन भने त्यो ठीक हुँदैन ।’

उनले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन हुनै पर्नेमा जोड दिँदै सरकारलाई यस विषयमा गम्भीर बन्न आग्रह गरे । सरकार सम्बन्धित पक्षहरूसँग छलफलमा रहेको उल्लेख गर्दै उनले चुनाव सुनिश्चित हुने विश्वास समेत व्यक्त गरे । सम्बोधनका क्रममा दाहालले अघिल्लो कांग्रेस र एमालेको गठबन्धन सरकारप्रति आक्रोश पोखे। उनले आफू सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्दा सत्ताबाट हटाइएको जिकिर गरे ।

‘हामीले सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौँ, तर हामीलाई दिइएन,’ दाहालले भने, ‘भ्रष्टाचार र राष्ट्रिय स्वाधिनताका लागि लड्न हामीलाई शक्ति पुगेन ।’ उनले कांग्रेस-एमालेको ‘दुई तिहाइ’ बाट जनताले केही हासिल गर्न नसकेको र उल्टै राष्ट्र सङ्कटमा फसेको टिप्पणी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार