काठमाडौँ : नेपालको निर्वाचन आयोगले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनका लागि राजनीतिक दल दर्ता र एकल चुनाव चिह्न प्रयोग गर्न चाहने दलहरूबाट कुल १२० वटा निवेदन प्राप्त भएको जनाएको छ ।
आयोगले २०८२ मंसिर १४ गते जारी गरेको विज्ञप्ति अनुसार दल दर्ताको अवधि पनि सकिएको छ । आयोगको यसअघिको मिति कात्तिक २८ को निर्णयानुसार दल दर्ताको प्रारम्भिक अवधि मंसिर १ गतेदेखि १० गतेसम्मका लागि तोकिएको थियो । पछि आयोगको मंसिर १० को निर्णयानुसार दल दर्ताको अवधि मंसिर १४ गतेसम्मका लागि थप गरिएको थियो ।
थप गरिएको यो अवधिभित्र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न र एकल चुनाव चिह्न प्रयोग गर्नका लागि जम्मा १२० वटा निवेदन प्राप्त भएका हुन् ।
निर्वाचन आयोगले स्वीकृत कार्यतालिका अनुसार प्राप्त भएका यी निवेदनहरू उपर छानबिन गरी प्रचलित कानुनबमोजिम योग्यता पुगेका राजनीतिक दलहरूलाई २०८२ साल मंसिर २० गतेसम्ममा स्वीकृति प्रदान गरिने जनाएको छ ।










