सालझण्डी–ढोरपाटन सडक : तीन पटक म्याद थप्दा ६० प्रतिशत काम

२०८२ मंसिर १५, सोमबार

बागलुङ : तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्ती खेप्नु परेको छ । सडकको बुर्तिबाङ–फल्लेघरसम्मको करिब २२ किलोमिटर सडक ग्राभेलका लागि चार वर्ष अगाडि स्वच्छन्द–ओमबुद्ध जेबी काठमाडौँले जिम्मा पाएको थियो ।

विसं २०८० वैशाखका ग्राभेल गरिसक्नुपर्ने भए पनि अहिलेसम्म जम्मा ६१ प्रतिशत मात्रै काम सकिएको छ । ३० महिनामा सक्नेगरी विसं २०७८ कात्तिक ५ गते सम्झौता भएको थियो । निर्माण कम्पनीले अहिले तेस्रो पटक म्याद थप गरेर काम गरिरहेको छ ।

यो म्याद पनि आगामी विसं २०८३ जेठसम्म छ । २५ करोड ६१ लाख ३१ हजार १ सय ६६ रुपैयाँमा खण्ड स्तरोन्नति भइरहेको सालझण्डी–ढोरपाटन सडक आयोजनाका सचना अधिकारी कृष्टिना थापाले जानाकारी दिइन् । अहिले सडक फराकिलो बनाउने, नाली निर्माणसहित ग्राभेलको काम भइरहेको उनको भनाइ छ । केही समयदेखि निर्माण कम्पनीले धमाधम काम गरिरहेको थापाले बताइन् । यो अन्तिम म्याद रहेको उनी बताउँछिन् । आगामी जेठसम्म नसके अर्को प्रक्रियामा जाने थापाको भनाइ छ । निर्माण कम्पनीले अहिलेकै गतिमा काम गरे जेठसम्म काम सक्ने उनी बताउँछिन् ।

‘लामो समय काम नहुँदा सडक अलपत्र परेको थियो, अहिले निर्माण कम्पनीले मेसिन र कामदार लगाएर काम गरिरहेको छ, सुरुबाटै काम गरेको भए एक वर्ष अगाडिनै सकिनुपर्ने हो, तर काम भएन,’ उनले भनिन्, ‘अहिलेको गतिमा काम भए त यो म्यादभित्र काम सकिन समस्या छैन, आशा गरौँ काम सकिएला ।’

स्वच्छन्द–ओमबुद्ध जेबीका प्रतिनिधि डालबहादुर कुँवरले आगामी जेठ महिनासम्म काम सक्ने गरी तीव्र गतिमा भइरहेको बताए । अहिले सडकका विभिन्न खण्डमा छ वटा ठूला मेसिनसहित कामदार लगाएको उनको भनाइ छ । पुस र माघ महिनामा धेरै चिसो हुने हुँदा अहिलेनै अलि बढी काम सक्नुपर्ने बाध्यता रहेको कुँवरले सुनाए । मङ्सिरदेखि यस खण्डमा कामले गति लिएको हो ।

विसं २०६८ मा रूपन्देहीदेखि शुरु भएको यस सडक अर्घाखाँचीको सन्धिखर्क, गुल्मी, पाल्पाहुँदै ढोरपाटन जोडिएको छ । रूपन्देहीमा, अर्घाखाँची, पाल्पा र गुल्मी जिल्लामा काम तीव्र गतिमा भए पनि बागलुङ खण्डमा अपेक्षा अनुसार काम हुन नसकेको हो । यतिका समयसम्म काम सम्पन्न हुनहुँदा हिउँदमा हिलो र बर्खामा धुलोले स्थानीय र ढोरपाटन आउन पर्यटकले सास्ती खेप्नु परेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताए । पछिल्लो समय ढोरपाटनमा आउने पर्यटकको चाप बढेको भन्दै सडकको दुरावस्थाका कारण दुःख पाउनु परेको उनको भनाइ छ ।

उपप्रमुख कायतले भने, ‘बुर्तिबाङ–ढोरपाटन लामो समयसम्म स्तरोन्नति नहुँदा हजारौँ स्थानीय र पर्यटकले दुःख पाएका छन्, अहिले निर्माण कम्पनीले काम सक्ला भन्ने छ, काम गरिरहेको हुँदा आशा पलाएको छ, यो ढोरपाटनमा उत्पादन भएका वस्तु बजारीकरण गर्ने मुख्य सडक हो, बर्खामा यात्रा गर्न निकै कठिन छ, हिउँदमा पनि त्यत्ति सहज छैन ।’

फल्लेघरदेखि देउरालीसम्म कालोपत्र गरिने
बुर्तिबाङ–ढोरपाटन खण्डकै फल्लेघर–देउराली सडक कालोपत्रका लागि काम सुरु भएको छ । सालझण्डी–ढोरपाटन सडक आयोजनाले असार २७ गते ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको हो । यस खण्ड शुरुमा ट्र्याक खुलेदेखि अहिलेसम्म स्तरोन्नतिनै भएको छैन ।

१६ करोड ४८ लाख २६ हजार २ सय २८ रुपैयाँ लागतमा दुई वर्षमा सक्ने गरी काम शुरु भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयले जनाएको छ । सडक कालोपत्रका लागि पिटीआर अधिकारी कन्स्ट्रक्सनले जिम्मा पाएको सूचना अधिकारी कृष्टिना थापा बताउँछिन् । तीन किलोमिटर सडक साह्रै साँघुरो हुँदा यात्रासमेत जाखिमपूर्ण हुने गरेको उनको भनाइ छ । अहिले सडक फराकिलो, नाली निर्माणको काम हुन थालेको थापाले बताइन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार