काठमाडौँ : जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनी घटनामा पूर्वसांसद अमनलाल मोदीका स्वकीय सचिव पक्राउ परेका छन्।
विघटित प्रतिनिधि सभामा तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी)का सांसद मोदीका स्वकीय सचिव ताजिम अन्सारी तोडफोड र आगजनीको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।
उनीसहित ५ जनालाई मोरङ जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा आइतबार पक्राउ परेका हुन्। मोरङ प्रहरीका अनुसार अन्सारीसहित महेश नेपाल, आवास पौडेल, राजिव यादव र अरूण साह सोनार पक्राउ परेका छन्।
आइतबार पक्राउ परेका अन्सारीसहित पाँच जनाको विराटनगरमा अदालत, महानगर पालिकालगायतका भवनमा आगजनीमा पनि संलग्नता रहेको प्रहरी स्रोतले बताएको छ। अन्सारी लगायतका व्यक्तिहरुले आन्दोलनमा घुसपैठ गरेर युवाहरूलाई आगजनी र अराजकताका लागि हौस्याएको समेत प्रहरीको भनाइ छ।
मोरङका सरकारी भवनहरूमा आगजनी गर्ने २१ जना यसअघि नै पक्राउ परिसकेका छन्।









