काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि व्यक्तिगत रूपमा उम्मेदवारी घोषणा गर्ने, आकांक्षी रहेको भन्दै प्रचार गर्ने वा सामाजिक सञ्जालमा दाबी पेस गर्ने आफ्ना नेता तथा कार्यकर्तालाई कडा चेतावनी दिएको छ।
पार्टीको उम्मेदवार छनोट समितिका संयोजक विपिनकुमार आचार्यले यस्तो चेतावनी दिएका हुन्। उनले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टीको आधिकारिक निर्णय नआइन्जेल कुनै पनि क्षेत्रमा उम्मेदवार टुंगिएको छैन। रुपन्देही–३ बाहेक अन्य कुनै क्षेत्रमा उम्मेदवार चयन भएको छैन।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कसैले पनि भ्रामक, अपुष्ट वा अफवाह फैलाउने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न–नगराउन हार्दिक अनुरोध गर्दछौँ। यस्तो गतिविधि गरेमा पार्टी अनुशासन उल्लंघन भएको ठहरिनेछ।’
रास्वपाले उम्मेदवार छनोट पार्टीले पारित गरेको औपचारिक विधि र मापदण्डका आधारमा मात्र हुने स्पष्ट पारेको छ।












