काठमाडौं : नेपाल प्रिमियर लिग(एनपिएल)अन्तर्गत मंगलबार साँझको खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ३४ रनले पराजित गरेको छ।
पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याउन क्रममा कर्णालीको टोली १९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रनमा रोकिएको हो। कर्णालीलाई रोक्ने क्रममा पोखराका बलरहरू धनञ्जय लक्षण र रिषी धवनले तीन–तीन विकेट लिए। किरन ठगुन्ना, सन्दीप क्षेत्री र कुशल भुर्तेलको नाममा एक–एक विकेट रह्यो।
कर्णालीका तर्फबाट ब्याटिङमा ओपनर मार्क वाटले ५९ रनको योगदान दिनुबाहेक अन्यले उल्लेख्य योगदान दिन सकेनन्। उनीपछि नजिबुल्लाह जद्रानले २४ रन, पवन सर्राफले १९ रन, प्रियांक पञ्चालले १६ रन, कप्तान सोमपाल कामीले १३ रनको योगदान दिए।











