दिल्ली जाँदै गरेको बसमा आगलागी : तीन नेपालीको मृत्यु

२०८२ मंसिर १७, बुधबार

काठमाडौं : भारतको उत्तर प्रदेशको बलरामपुरमा मंगलवार बिहान नेपाल–भारत सीमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यात्रुबाहक बसमा भीषण आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा परी दुई दर्जनभन्दा बढी नेपाली नागरिक घाइते भएका छन् । बसमा ४५ जना सवार थिए, जसमा धेरैजसो नेपालका विभिन्न जिल्लाका युवायुवती, सर्वसाधारण र परिवारका सदस्य थिए ।

दुर्घटना राति करिब २ बजेतिर यूपी २२ एटी ०२४५ नम्बरको बस बलरामपुर मोड नजिकै दुर्घटनामा परेपछि आगलागी भएको भारतीय प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार बस एक मालवाहक ट्रकसँग ठोक्किएर सडकछेउको हाई–टेन्सन पोलमा ठोक्किँदा सर्ट–सर्किट भएको र त्यसपछि बसमा आगो लागेको बताइएको छ ।

रातको समयमा धेरै यात्रु निद्रामै थिए । ठक्कर र आगोको तेज झिल्काले यात्रु हत्तपत्त ब्युँझिए । बसभित्र धुवाँ र आगो झनै बढेपछि यात्रुले आफैंले सिसा फुटाएर बाहिर हामफालेका थिए । तर, पछिल्लो भागमा बसेका केही यात्रु समयमै निस्कन नसक्दा जलेर मृत्यु भएको बताइएको छ । स्थानीयवासी, प्रहरी र दमकलको टोलीले करिब एक घण्टाको प्रयासपछि मात्र आगो नियन्त्रणमा ल्याएको थियो ।

शव पोलेर चिन्न नसकिने अवस्थामा रहेकाले पहिचानका लागि थप परीक्षण आवश्यक भएको भारतीय अधिकारीले जानकारी दिएका छन् ।घटनामा घाइते भएकामध्ये धेरैजसो नेपालका विभिन्न जिल्लाका नागरिक रहेका छन् । उनीहरूलाई सुरुमा स्थानीय स्वास्थ्य संस्थामा उपचार गरी पछि बहराइच मेडिकल कलेजलगायतका अस्पतालहरूमा रेफर गरिएको हो । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

उक्त दुर्घटनामा घाइतेहरूमा शिवबहादुर पुनजुवार, पुरनबहादुर बुढा, ईश्वरबहादुर, विष्णु, अनिलबहादुर, सरस्वती/सपना खत्री, दीक्षाकर मगर, जहिदुल रहमान, ताति बेगम, विधायन यादव, विवस गुरुङ, लालबहादुर, छिरिङ लामा, विक्रम मनिया, सुवास अर्याल, कमलबहादुर पौडेल, बुधराम, ओमबहादुर, वसन्त सार्की, सोनम, अनिक्षा, नेपाल, गुनबहादुर/सुरेश, बोधिबहादुर, धनकुमारी लगायतका रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार